सञ्चारकर्मी ढकालका हत्यारालाई ३९ वर्ष कैद

माघ २, २०७६ | हेटौडा

सञ्चारकर्मी मनोहर ढकाललाई डकैती सहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैद गर्ने फैसला गरेको छ । 

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलाशले हेटौंडा उपमहनगरपालिका-११ का अनमोल पुडासैनी र हेटौंडा उपमहानगरपालिका-१२ का प्रविण वाईवालाई ३९ वर्ष कैद गर्ने फैसला गरेको हो ।

हेटौंडा उपमहानगरपालिका—११ नवलपुरका सञ्चारकर्मी ढकालको हत्या मुद्दामा उनीहरुलाई दोषी ठहर गरेको हो ।

ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्षगरी ३९ वर्ष कैद गर्ने फैसला भएको स्रेस्तेदार केशवराज कौशिकले बताउनुभयो । 

ढकालको सुनको औंठी खरिद गर्ने नारायण बहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

३८ वर्षीय ढकालको पुडासैनी र वाईवाले २०७५ पुस २५गते हेटौडा उपमहानगरपालिका–१ भैरव डाँडामा हत्या गरेका थिए । हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाईल लगायत सामान लुटेका थिए । 

२० वर्षीय पुडासैनी र १९ वर्षीय वाईवा भैरव डाँडाको खोल्सीमा लागूऔषध सेवन गरिरहेको अवस्थामा सञ्चारकर्मी ढकाल मोटरसाईकल लिएर उक्त स्थानमा पुगेका थिए । 

उनले तिमीहरु यस्तो कुलतमा लाग्ने हो भनेर असल (गुडफेथ) भावनाले सम्झाउन खोज्दा उल्टै ढकाललाई मोटरसाईकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेका थिए । 

प्रहरी र अदालत समक्ष अभियुक्तद्धयले लागूऔषध खान हुन्न भनेर हप्काएकाले रिस उठ्यो भने अर्कोतिर हातमा औंठी देखेका लुट्ने मनसायले हत्या गरेको साविती बयान दिएका छन् । 

अभियुक्तद्धय क्षेत्रीय कारागार भीमफेदीमा विगत एक वर्षदेखिनै छन् । असल भावना राखेर कोही कसैलाई सम्झाउँदा ढकालले ज्यान गुमाएका हुन् । 


प्रतिक्रिया