लाङटाङमा हराएका विद्यार्थीको शव ११ दिनपछि भेटियो

माघ १३, २०७६ | नुवाकोट

लाङटाङ राष्ट्रिय निकुञ्जमा हराएका दुई विद्यार्थीको शव ११ दिनपछि फेला परेको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षीय जापान तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका १ का १७ वर्षीय वाङगेल शेर्पाको शव ११ दिनपछि गोसाइँकुण्ड पदयात्राको फेदी भन्दा ३ किलोमिटर तल फेला परेको हो । 

नुवाकोटको तादी गाउँपालिकाका–१ उर्लेनीका खोज तथा उद्धार टोलीका गाईड लालबहादुर तामाङसहित ६ जनाको टोलीले उनीहरुको शव फेला पारेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । दुबै जनाको शव हिउँले पुरिएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । 

उनीहरु माघ ३ गतेबाट गोसाईंकुण्ड पदयात्रामा निस्केका थिए । उनीहरु काठमाडौंको बौद्धस्थित कुमारी बोर्डिङ स्कूलमा अध्ययनरत थिए । 

सिन्धुपाल्चोकको हेलम्बु र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी बीचको निकुञ्ज क्षेत्रबाट उनीहरु हराएका थिए । 

उनीहरुको खोजीको लागि दुप्चेश्वर गाउँपालिकाले १३ स्थानीय र ६ जना दक्ष जनशक्ति परिचालन गरेको थियो । उनीहरुको खोजीको लागि नुवाकोट प्रशासनबाट सुरक्षा निकाय र रसुवा प्रशासनबाट हेलिकोप्टर समेत परिचालन गरेको थियो । 


प्रतिक्रिया