भन्सार छलेर ल्याउँदै गरेको कपडा नियन्त्रणमा

फाल्गुन २, २०७६ | बिर्तामोड

भारतबाट भन्सार छलेर ल्याएको करीब ६० लाख रुपैयाँ बराबरको कपडा सहित एउटा बोलेरो पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतसँग सीमा जोडिएको इलामको विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएका कपडा गाडीमा लोड गरी झापातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । 

बिहीबार बिहान पौने ९ बजे इलामबाट ल्याउँदै गरेको अवस्थामा मेचीनगर नगरपालिका १२ धाइजनस्थित मेची राजमार्गबाट मे १ ज १८०७ नम्बरको भ्यानमा लोड गरिएका कपडा नियन्त्रणमा लिएको हो । 

प्रहरीले भ्यान चालक विकास राजवंशीलाई समेत नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाटै खटिएको प्रहरी टोलीले कपडा सहितको भ्यान नियन्त्रणमा लिएको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

भ्यानमा नेट साडी, सुती साडी, ढाँका कपडा, ब्लाउज, सर्टको कपडा, बनारसी साडी, बेहुली लेङ्गा, नेटको साडी, कटनको साडी, मौसमी फेन्सी साडी, कुर्ता सुरुवाल लगायत १६ प्रकारको कपडा बरामद गरेको एसपी कोइरालाले बताउनुभयो । 

बरामद कपडा, गाडी र चालकलाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय इटहरीमा बुझाएको जिल्ला प्रहरीले जनाएको छ ।

ती कपडा झापाको भद्रपुरबाट काठमाडौं पठाउन लागेको भनि उल्लेख गरेको एउटा भ्याट बिल चालक राजवंशीसँग बरामद गरेको एसपी कोइरालाले बताउनुभयो । 

भद्रपुरको शिव स्टोरले १४ लाख २८ हजार मूल्यको विभिन्न ८ प्रकारका कपडा काठमाडौंको श्रेष्ठ अडर एण्ड सप्लायर्सको नाममा भ्याट बिल काटेको पाइएको छ । 

तस्करहरुले फर्जी बिल बनाएर भारतीय कपडा अवैध बाटोबाट नेपाल भित्र्याएको उहाँको दाबी छ । 


प्रतिक्रिया