चन्द समूहका उदयपुर सेक्रेटरी मगर पक्राउ

फाल्गुन २९, २०७६ | उदयपुर

प्रतिबिन्धत नेत्रविक्रम चन्द समूहका उदयपुर सेक्रेटरीलाई जितबहादुर पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको छ । उदयपपुरगढी गाँउपालिका–७ अँधेरीबाट मगरलाई प्रहरीले आज पक्राउ गरेको हो । 

स्थानीय चित्रबहादुर खपाङ्गी मगरको घरमा लुकेर बसेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो । खपाङ्गीको घरमा बसेर चन्द समूहको नाममा योजना बनाएको, हिंसात्मक गतिविधि बढाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

२०७४ मंसिर १३ गते चुनावप्रचार प्रसारका क्रममा निर्वाचन क्षेत्र नम्बर २ का कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की लगायत ७ जनालाई लक्षित गरी उदयपुरगढी–६ दनुवारबेसी सडकमा एम्बुस थापेर अङ्गभङ्ग बनाएको आरोपमा मगर विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर रहेको प्रहरी उपरीक्षक मगरले बताउनुभयो । 

त्यसैगरी जिल्लाका एनसेल टावर, व्यक्ति तथा कार्यालय र सडकलाई लक्षित गरी बम राखेर त्रास फैलाएको लगायत आरोप उनीमाथि छ । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिई अनसुन्धान सुरु गरेको छ । चन्द समूहका सेक्रेटरी मगरको साथबाट मोबाइल ३ थान र पार्टीका विभिन्न दस्ताबेज बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया