कोरोनाको शंकास्पद विरामीले स्वाव दिएर फर्किए

चैत्र २, २०७६ | सुनसरी

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा बस्न नमानी घर फर्केका शंकास्पद कोरोना भाइरस संक्रमणका विरामी आज फर्केर आएका छन् । चिकित्सकहरुले उनको र्‍यालको स्वाव लिएका छन् । चिकित्सकहरुले लिएको स्वावको नमुना भोलि मात्र विराटनगर पठाउने तयारी भएको छ ।

साउदी अरबबाट आएका ४२ बर्षीय ती पूरुष विराटनगरका बासिन्दा हुन् । कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको अवस्थामा शंकास्पद विरामीको रुपमा उनलाई हेरिएपछि सोहीअनुसारको व्यबस्थापन गर्न भने सरकार चुकेको छ । ती व्यक्ति आफैले पनि चार दिन देखि तनाव सहीरहेका छन् भने सरकारी कमजोरीले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले पनि अनावश्यक तनाव व्यहोर्नु परेको छ ।

शंकास्पद विरामीले सार्वजनिक सवारी साधन प्रयोग गरेर विराटनगर–धरान ओहोर दोहोर गरेको समाचार आएपछि सर्वसाधारण समेत त्रसित बनेका छन् । अधिकांसले ती विरामीलाई प्रतिष्ठानको आइसोलेशन वार्डमा नराखेर किन जान दिइयो भनेर प्रश्न उठाइरहेका छन् । यसबारे प्रतिष्ठानका एक चिकित्सकले भने, ‘यो गल्ती हामीबाट भएको होइन । ती विरामी जव साउदी बाट काठमाण्डौको त्रिभूवन एयरपोर्टमा झरेर बाहिरिदा त्यहा के हेरेर बसेका थिए ?’

विरामी आफ्नो घरमा आएपछि प्रहरीले विपि प्रतिष्ठानमा एकजना शंकास्पद विरामी आउदैछ भनेर चिकित्सकहरुलाई जानकारी दिएपछि इमर्जेन्सी कक्षमा गत शुक्रबार विहान देखि बेलुका ११ बजेसम्म कोरोना भाइरस र्‍यापिड रेस्पोन्स कमिटिमा सम्लग्न चिकित्सकहरु तयारी अवस्थामा थिए । तर त्यसबेलासम्म नआएपछि शनिबार विहान मात्र सार्वजनिक बस चढेर आएका थिए ।

ती चिकित्सकले भने, ‘कोशी अस्पतालले रिफर गर्ने, नोवेल र विराट अस्पतालले पनि विपी प्रतिष्ठानमै रिफर गर्ने भएपछि ती अस्पतालको काम चाही के हो ? जवकी आज आएका ती विरामीबाट लिएको स्वावलाई सुरक्षित गर्न भाइरल ट्रान्स्पोर्ट मेडियम नै यहा दिइएको थिएन । स्वास्थ्य निर्देशनालय नजिकै रहेको कोशी र नोवेल वा विराटमा पनि आइसोलेशन वार्ड विपि प्रतिष्ठानले गर्नु भन्दा अगाडि तयारी भएको छ भनेर पहिलै जानकारी दिइएको थियो । त्यही गर्न सकिने विषय यहा रिफर गर्दा समस्या भयो ।’

ती विरामीको स्वाव राख्ने सुरक्षित भांडो नहुदा विराटनगरबाट भिडिएम ल्याउनकालागि करिव सात घण्टा समय पर्खिनु परेको थियो । कोरोना भाइरसको संक्रमितको आशंकामा पुर्वका सवै निजि र सरकारी अस्पतालले प्रतिष्ठानमा रिफर गर्ने गरेपनि आज दुई थानमात्र भाइरल ट्रान्सपोर्ट मिडियम भिडिएम प्राप्त भएको थियो ।

प्रतिष्ठानमा भेन्टिलेटर सहितको आइसियु वेड समेत अभाव भइरहेको बेला कोरोना भाइरस संक्रमितको उपचारमा चाहिने आइसियु वेड नभएको पनि ती चिकित्सकले बताए । उनले भने, ‘कि सरकारले बजेट दिनु पर्‍यो । कि यस्तो लापर्वाही गनुृ भएन । कामना गरौं ती विरामीको रिपोर्ट नेगेटिभ आओस् । तर कथंकदाचित कोरोना भाइरस संक्रमित नै भएको रिपोर्ट आयो भने तिनले सार्वजनिक सवारी साधनमा चढेको बेला र उनका छर छिमेकी कति जनालाई सारे होलान् ?’

आइतबार आउदा उनको ज्वरो नाप्दा सामान्य अवस्थामा रहेको पाइएको र शारिरिक अवस्था स्थिर नै देखिएको प्रतिष्ठानका चिकित्सकले बताए । उनको अवस्था सामान्य नै देखिएको र घरैमा क्वारेन्टाइमा बस्ने भनेर उनी मोटर साइकलमा चढेर फर्केका थिए ।

प्रतिष्ठानका र्‍यापिड रेस्पोन्स टिमका सदस्य समेत रहेका सहायक अस्पताल निर्देशक डा विकास साहले भने ती विरामीबाट लिएको स्वाव भोलि विराटनगर पठाउने र विराटनगरले काठमाण्ठौको शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाउने बताउनुभयो ।  


प्रतिक्रिया