प्रशारण लाइन लालीगुराँस क्षेत्र बाहिर निर्माण गर्न सांसदको माग

चैत्र २, २०७६ | विराटनगर

– प्रदेश १ का प्रदेश सभा सदस्य बिष्णु तुम्बाहाम्फेले लालीगुराँसको राजधानी तेह्रथुमको तीनजुरे–मिल्के–जलजले क्षेत्र भन्दा बाहिरबाट राष्ट्रिय गौरवको आयोजना कोशी कोरिडोर २ सय २० केभिए विद्युत प्रसारण लाइन निर्माण गर्न माग गर्नुभएको छ । प्रदेशसभा बैठकमा आज उहाँले सो क्षेत्रमा २८ प्रजातिका लालीगुराँस लगायतका बहुमूल्य प्रजातिका रुख बिरुवासँगै त्यस क्षेत्रका जैविक विविधताको संरक्षणका लागि सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । 

तेह्रथुमको लालीगुराँस नगरपालिका, सामुदायिक वन उपभोक्ता समूह लगायत स्थानीयले पनि सो क्षेत्र बाहिर प्रशारण लाइन निर्माण गर्न माग गर्दै आएका छन् । सो प्रसारण लाइनले तेह्रथुमका ६ वटा सामुदायिक र केही राष्ट्रिय वन गरी १५ हजार बढी रुख काटिने आयोजनाले जनाएको छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने सो क्षेत्र लालीगुराँसको राजधानीको रूपमा चर्चित छ । ताप्लेजुङको तमोर नदी र मेवाखोला क्षेत्रमा उत्पादित बिजुली टुटेमा बनिरहेको सबस्टेशन हुँदै सुनसरीको इनरुवामा लगेर ढल्केबरबाट आएको ४ सय केभीए क्षमताको राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । 


प्रतिक्रिया