कलैया उपमहानगरपालिका प्रमुख राय पक्राउ

वैशाख ९, २०७७ | बारा

राहतका लागि कुहिएको दाल बिक्री गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय पक्राउ परेका छन् । यसअघि पक्राउ परेका आठै जनाले उपमहानगरपालिकाका प्रमुख रायको कोल्ड स्टोरबाट दाल खरिद गरेको बयान दिएपछि उनलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जना यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा–७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगञ्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

 सोही प्रकरणमा वडा नम्बर ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्यक्ष महेश साहलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले दुई पटक गरी कलैया उपमहानगरपालिका–७ मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल बरामद गरेको थियो । 

कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा गत शनिबार शिलबन्दी गरेको थियो । 

कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका प्रमुख राजेश रायले सञ्चालन गर्दै आएका छन् । उनी यादवका छोरा हुन् ।


प्रतिक्रिया