धरानको विजयपुरमा दुई घर जल्दा २२ लाख बराबरको क्षति

असार २४, २०७७ | सुनसरी

सुनसरीको धरानमा दुई घरमा आगलागी हुँदा २२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएर धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बेलडाँडाका दुई घरमा आगलागी हुँदा २२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । 

आगलागीबाट विष्णु राईको काठको दुई तले घरसहित लत्ताकपडा, गरगहना लगायत गरी १३ लाख रुपैयाँ बराबरको धनमालको नष्ट भएको हो । यस्तै, इश्वर राईको घरमा पनि आगलागी हुँदा ९ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी रहेकाले अझै बढ्न सक्छ । उहाँले भन्नुभयो, ‘ग्यास सिलिण्डर चुहावट भएर सुरु भएको विष्णु राईको घर पुरै जलेको र छिमेकी इश्वरको घर आधा मात्र जलेको छ ।’

बिहान १० बजेतिर आगलागी भएको मध्ये विष्णु राईको घरमा नरमाया लिम्बुको परिवार भाडामा बस्दै आएका थिए । लिम्बुको नगद डेढल ाख रुपैयाँ, आधातोला सुनको गहना, फर्निचर लगायत जलेर नष्ट भएको थियो । घरधनी राई भने धरान–४ दानाबारीमा बस्दै आएका छन् । 

इश्वरको घरमा भने उनकै भाई कमल राई बस्दै आएका थिए । इश्वर राईले अर्को नयाँ घर बनाउनका लागि राखेको ८ सय किवी सालको काठ समेत जलेर नष्ट भएको छ । धरान उपमहानगरको दमकल, नगरप्रहरी, जनपद प्रहरी र स्थानीयको सहयोगमा करीब तीन घण्टापछि आगो निभाइएको थियो । 


प्रतिक्रिया