खैरो हेरोइन सहित धरानबाट ३ पक्राउ

खैरो हेरोइन सहित पक्राउ परेका धरानका युवाहरु । तस्बिर : रेडियो कान्तिपुर 

असार २९, २०७७ | सुनसरी

खैरो हेरोइन सहित सुनसरीको धरानबाट सोमबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–८ बस्ने ३७ वर्षीय सुमेन मोक्तान, २४ वर्षीय सविन रानामगर र धरान १८ शिवमार्ग बस्ने प्रवल राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेका प्रवल राईको शरीर खानतलासी गर्दा १५० मिलिग्राम खैरो हेरोइन फेला परेपछि थप सोधपुछ गर्दा अन्य दुईजना पक्राउ परेको हो ।

प्रहरी नायब उपरिक्षक बस्नेतले भन्नुभयो, ‘प्रवललाई सोधपुछ गर्दा उसले सोही वडा बस्ने सविन रानामगरको माध्यमबाट किनेको बताएको थियो । त्यसपछि सविनलाई केरकार गर्दा सुमेन मोक्तानबाट किनेको बतायो ।’ मोक्तानको घरमा खानतलासी गर्दा लुकाइरहेको अवस्थामा थप १ सय ५० ग्राम खैरो हेरोइन फेला परेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उनीहरुको बयान अनुसार ७५ ग्रामको एक डोज बनाउने र प्रतिडोज १५ सय रुपैयाँ देखि २ हजार रुपैयाँमा बिक्री गर्दा रहेछन् । कोरोना महामारी र लकडाउन भएपनि पछिल्लो समयमा धरानमा खैरो हेरोइनका लत लागेका दुर्व्यशनीहरु अत्यधिक रहेको देखिएको छ । कतिपयलाई हामीले निगरानीमा राखेका छौं । बिक्री वितरण गर्नेहरुको लिस्ट हामीसँग छ ।’

 उहाँले पहाडी जिल्लाका साना शहरी क्षेत्रमा पनि धरानबाटै खैरो हेरोइन बिक्री वितरण हुने गरेको सुराकी पाइसकेको बताउनुभयो ।

यसैगरी, धरानमा गाँजा खेती र बिक्री गरेको आरोपमा प्रहरीले धरान–१३ बस्ने २९ वर्षीय नवीन मगरलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले गाँजासहित पक्राउ गरेको जनाएको छ । घर नजिकै बारीमा खेती गरेर उत्पादित गाँजा बेचबिखन गर्ने गरेको विशेष सूचनाको आधारमा मगरलाई पक्राउ गरेको हो । चारै जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनुभयो ।


प्रतिक्रिया