सवारी चालकसँग घूस लिने चार प्रहरी नियन्त्रणमा

श्रावण १३, २०७७ | हेटौंडा

सेवाग्राहीसँग घूस लिने एक हवल्दार सहित चार जना प्रहरीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरतसहित ४ जना प्रहरीलाई नियन्त्रणमा लिएको हो । 

सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरिक्षक एवं प्रवक्ता सुदिप गिरीले बताउनुभयो । प्रदेश प्रहरी कार्यालय हेटौंडाले नियन्त्रणमा लिएका चार जना प्रहरीमध्ये २ जना ट्राफिक प्रहरी कार्यालय मकवानपुरको रातोमाटे र ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत थिए । 

२ जना ईलाका प्रहरी कार्यालय रामनगर चितवन र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत रहेका छन् । प्रहरी आचरण विपरीतको कार्य गरेको पाईएकोले प्रहरी नियमावली अनुसार कानूनी कारबाही गरिने प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाबाट विशेष कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मूल्यांकन गर्न टोली गठन गरेको छ । 

डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ । 


प्रतिक्रिया