३१ हजार नगदसहित दार्चुलाबाट ९ जना पक्राउ

आश्विन २४, २०७७ | दार्चुला

दार्चुलाको मार्मा गाउँपालिका–२ घट्टेबगडबाट जुवा खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । घट्टेबगडको स्थानीय पसलमा जुवा खेलिरहेको अवस्थामा ३१ हजार रुपैयाँ नगद सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्ने ९ जना स्थानीय नै रहेको जिल्ला प्रहरीका सूचना अधिकारी भाष्कर चन्दले बताउनुभयो । उहाँका अनुसार प्रहरी उनीहरुलाई स्थानीय गणेश महराको पसलबाट शुक्रबार राति साढे १० बजेपछि पक्राउ गरेको थियो । 

उनीहरुबाट ३१ हजार ६५ नगद रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ । पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय ल्याईरहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध मुद्दा दर्ता गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२५ बमोजिम जुवा खेल्न नहुने कसुरमा अनुसन्धान अगाडि बढाईने सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । 

त्यस्तै, गाँजाका कारण युवाहरु कुलतमा फस्ने भन्दै प्रहरीले जिल्लामा अवैध रुपमा लगाइएका गाजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ । दार्चुलाका डीएसपी पदमबहादुर विष्ट नेतृत्वको टोलीले मालिकार्जुन गाउँपालिका–३ मा लगाइएको झण्डै दुई सय अवैध गाँजा नष्ट गरेका छन् । 

डीएसपी सहितको मालिकार्जुन प्रहरी चौकीबाट खटिएको प्रहरीले मालिकार्जुनकै ढिब्ड्या भन्ने स्थानमा रहेको दुई सय भन्दा बढी गाँजाका बोट नष्ट गरेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक चन्दले बताउनुभयो । 

जिल्लाका अधिकांश भागहरुमा गाजा हुने गरेको छ । प्रहरीका अनुसार जताततै पाइने गाँजालाई प्रहरीले नष्ट गर्ने अभियानको थालनी गरिएको हो । गाँजाका कारण युवाहरु कुलतबाट फस्न नदिन नष्ट गर्न लागिएको प्रहरीले जनाएको छ । 

लागू औषध नियन्त्रण तथा न्यूनिकरण गर्ने अभियान एवं उद्देश्य अनुसार सो क्षेत्रमा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गरिन लागेको प्रहरी जनाएको छ । गाँजाबाट उत्पादन हुने लागू औषध जस्ता कुराहरुलाई निरुत्साहित गर्न बोट नष्ट गरिएको हो । 


प्रतिक्रिया