बहुमूल्य नागमणि भन्दै करौडौं ठगी गर्ने तीन जना पक्राउ

कार्तिक १८, २०७७ | नेपालगञ्ज

बहुमूल्य नागमणि भन्दै झल्कने सानो पदार्थ देखाएर एक करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहरा रहेका छन् । 

दाङ घोराही उपमहानगरपालिका–१७ का माधवप्रसाद घिमिरेलाई नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नेपालगञ्जको एक होटलमा बसेर मूल्य निर्धारण गरेका उनीहरु पैसा बुझेपछि फरार भएका थिए । उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका–१ बाट चालिस लाख रुपैयाँसहित नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताउनुभयो । बाँके प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । 

एसपी रानाका अनुसार, तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, भन्दै प्रलोभनमा पारेको देखिन्छ । यस्तो कार्य गर्नेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।


प्रतिक्रिया