स्रोत नखुलेको करीब ५० लाख रुपैयाँ सहित एक पक्राउ

पुस २३, २०७७ | कपिलवस्तु

स्रोत नखुलेको करीब ५० लाख रुपैयाँ सहित कपिलवस्तुको कृष्णनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–२ निवासी ३३ वर्षीय सचिन अग्रवाल रहेका छन् । 

गत सोमबार काठमाडौंको नागढुंगामा स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ बरामद भएको घटनामा संलग्न अग्रवाल बिहीबार कृष्णनगरबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले उनकै घरबाट स्रोत नखुुलेको ४९ लाख ५३ हजार ३ सय २० रुपैयाँ पनि बरामद गरेको छ । 

अग्रवालको घरमा लुकाएर राखेको अवस्थामा ४४ लाख ९५ हजार नेपाली रुपैयाँ र २ लाख ८६ हजार ४ सय ५० भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । यही पुस २० गते भारतको गोरखपुर घण्टाघर घर भएका ३० वर्षीय अमित गुप्ता र कपिलवस्तु वाणगंगा नगरपालिका–४ का २२ वर्षीय कार चालक संगम थारु नागढुंगाबाट पक्राउ परेका थिए । 

प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको उनीहरु सवार कारको डिक्कीमा ३ वटा झोलामा लुकाई लगिरहेको बेला सो रकम बरामद गरिएको थियो । उनीहरुलाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाएको थियो । 

त्यहाँ प्रारम्भिक अनुसन्धानका क्रममा अग्रवालको नाम मुछिएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो । सम्पत्ति शुद्धीकरण विभागको निर्देशनमा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएर रकम सहित बिहीबार काठमाडौं पठाएको छ । 


प्रतिक्रिया