नक्कली नोटसहित बाराबाट ५ पक्राउ

भाद्र २७, २०७८ | बारा

नक्कली नोटसहित बाराको निजगढबाट पक्राउ परेका ५ जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । उनीहरु निजगढ–८ को तारा ईन होटेलबाट शनिबार पक्राउ परेपनि बारा प्रहरीले आइतबार मात्र सार्वजनिक गरेका हुन् । उनीहरुको साथबाट नोट छाप्ने कागज र केही सवारी पनि नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । 

होटलमा कोठा भाडा लिई केही दिनदेखि उनीहरु नेपाली नक्कली नोटहरुको कारोबार गर्दै आइरहेको प्रहरीले जनाएको छ । बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीका अनुसार गोप्य सूचनाको आधारमा उनीहरुलाई काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोलका २४ वर्षीय सुनिलकुमार राम, ३६ वर्षीय रवीन्द्र कुमार चौधरी, बाराको करैयामाई गाउँपालिका–५ का ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, कलैया उपमहानगरपमालिका–९ रामपुर टोलका २४ वर्षीय सागर शुक्ला र टेङग्रहर टोल घर भई विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका २५ वर्षीय राजु कुशवाहा छन् । 

उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान गर्न खोटा चलन मुद्दा अन्तर्गत अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । पक्राउ परेकाको साथबाट १ हजार दरको २५ हजार रुपैयाँ, उनीहरुले प्रयोग गर्ने बा ९१ प ७४३५ नम्बरको बाइक एक थान, बा १४ च ९३८२ नम्बरको स्कोर्पियो एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुको बयानबाट प्रहरीले रौतहटका सुनिलको घरमा छापा मार्दा नक्कली नोट बनाउने कागजात बरामद गरेको हो । खानतलासी गर्दा नेपाली एक हजार दरको नोट अकारको प्रति गड्डी सय थान भएको जम्मा ९३ गड्डी कागज, नेपाली एक हजार दरको नक्कली ३९ हजार बरामद गरिएको छ । त्यहाँबाट पनि बीआर ०५ क्यू ४६१० नम्बरको भारतीय मोटरसाइकल एक थान र प्रदेश २–०३–००१ प ४२६५ नम्बरको अर्को मोटरसाइकल एक थान बरामद गरिएको छ ।


प्रतिक्रिया