१५ बोरा गाँजासहित मोरङबाट दुई पक्राउ

पुस १८, २०७९ | मोरङ

लागू औषध गाँजा सहित मोरङबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका–१ बबियाका ४२ वर्षीय मनोज राजबंशी र धनकुटाको सहिदभूमी गाउँपालिका–२ का २९ वर्षीय बेचन भन्ने हस्त राई छन् । 

जिल्ला प्रहरी कार्यालयले रंगेली नगरपालिका–१ बबियाबाट १५ बोरा गाँजासहित दुई जनालाई आइतबार नियन्त्रणमा लिई सोमबार सार्वजनिक गरिएको हो । राजबंशीको गाई गोठ, कुखुराको खोर र परालको टालमा लुकाएर राखेको अवस्थामा १५ वटा बोरामा भएको ३५० किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी मोरङका डीएसपी टीकाबहादुर कार्कीले बताउनुभयो । 

राजबंशीको घर गोठमा ठूलो परिमाणको गाँजा रहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएका प्रहरी टोलीले सो परिमाणका गाँजा र राईले गाँजा ओसार्न प्रयोग गरेको प्र.नं.१–०२–०५०प २७९२ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको डीएसपी कार्कीले जानकारी दिनुभयो । 

पक्राउ परेकालाई लागूऔषध कारोबारमा जिल्ला अदालत मोरङबाट म्याद थप गराएर अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । 


प्रतिक्रिया