नियन्त्रित लागू औषध सहित वीरगञ्जबाट ३ पक्राउ

माघ २५, २०७९ | पर्सा

प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बस्ने ट्रक चालक ४२ वर्षीय निर्मल पौडेल, ४० वर्षीय रमेश थापा, २९ वर्षीय सुदर्शन खड्का छन् ।

मंगलबार साँझ ६ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित सिर्सिया सुक्खा बन्दरगाह गेटबाट प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकमा राखिएको लागू औषधसहित उनीहरु पक्राउ परेका हुन् । 

वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सो ट्रकबाट लागूऔषध बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

ट्रकको चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागूऔषध ओनरेक्स १ सय एमएलको १ सय ६६ बोत्तल र कोडिवेल कफ सिरप ५७ बोत्तल गरी कुल २ सय ३ बोत्तल फेला परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया