पाल्पामा निजी लगानीमा २ हजार बिरुवा रोपण

श्रावण १९, २०८० | पाल्पा

पाल्पाको रम्भा गाउँपालिका–३, स्थित पिपलडाँडाको बेलपानी–मौलाथर मोटरबाटो सडक छेउमा एकै दिन २ हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । मोटरबाटोको छेउमा सफेदा, बकाइनो, अशोका, लहरेपिपल, अमला, तेजपात, कागती लगायतका बिरुवा रोपिएको हो ।

सिद्धार्थ राजमार्गको पिपलडाँडा खहरेखोला खेत क्षेत्रमा अशोका, चुकाहा घुम्तीमा लहरेपिपल, बकाइनो, सफेदा, जुईडाँडामा अशोका र लहरेपिपल रोपिएको छ । तिवारीमोडदेखि घोरलोटेसम्म बकाइनो, तेजपात, लहरेपिपल, अशोका लगाइएको छ । यस्तै, मिलदेखि कुँवबेरीडाँडा साथै चण्डीथानसम्म पनि विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।


मोटरबाटो स्तरोन्नती उपभोक्ता समितिका अध्यक्ष केशवराज भण्डारीले आफ्नो जन्मदिनमा निजी लगानीमा विरुवा व्यवस्थापन गरेका हुन् । भण्डारीलाई केही बिरुवा डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाबाट सहयोग गरेको हो ।

सरकारी निकायमा नपाइने अशोका, लहरेपिपल लगायतका विरुवा भण्डारीले खरिद गरेर रोपेका हुन् । वृक्षरोपण गर्दै रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले मोटरबाटो खन्दा वन तथा वातावरणीय पक्षलाई जोगाउन नसक्दा नोक्सानीलाई परिपुर्ति गर्न वृक्षरोपणले सहयोग पुगेको बताए ।

मोटरबाटो सबैका लागि आवश्यक भएको रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाको भनाई छ । वृक्षरोपणमा पिपलडाँडा, मौलाथर लगायतका गाउँका ३ सय बढीको सहभागिता थियो ।  


प्रतिक्रिया