नेपालमा पहिलो पटक छैटौँ अन्तर्राष्ट्रिय राजवंशी साँस्कृतिक, पर्यटन तथा चलचित्र महोत्सव

जेष्ठ ३१, २०८१ | काठमाडौं

नेपालमा पहिलो पटक छैटौं संस्करणको अन्तर्राष्ट्रिय राजवंशी साँस्कृतिक, पर्यटन तथा चलचित्र महोत्सव सम्पन्न भएको छ । भारतका विभिन्न स्थानमा विगत ५ वर्षदेखि अन्तर्राष्ट्रिय राजवंशी साँस्कृतिक, पर्यटन तथा चलचित्र महोत्सव हुँदै आएकोमा यसवर्ष झापाको कन्काई नगरपालिका ९ घैलाडुब्बामा महोत्सव गरिएको हो ।

राजवंशी समुदायको समृद्ध साँस्कृतिक सम्पदालाई संरक्षण, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा राजवंशी समुदायमा लोकप्रिय र चर्चित उत्कृष्ट फिल्म, निर्माता, निर्देशक, कलाकारलगायतलाई अवार्ड प्रदान तथा सम्मान गरिएको छ ।


उत्कृष्ट फिल्म निर्देशक, फिल्मसहित विभिन्न विधामा अवार्डहरु वितरण गरिएको हो । कार्यक्रममा उत्कृष्ट पपुलर फिल्मको अवार्ड विदेशी हावाले हात पारेको छ । सो फिल्मबाट सन्देश सहनिले अवार्ड प्राप्त गरे । यस्तै, उत्कृष्ट निर्देशकमा सनार पिन्जराका तर्फबाट धीरु रोय, उत्कृष्ट अभिनेतामा देवसरी फिल्मका मनोरथ मानव, उत्कृष्ट अभिनेत्री सनार पिन्जरा, उत्कृष्ट सिनेमाटोग्राफीमा आन्धार जिवन, उत्कृष्ट फिल्म सम्पादन मोनेर मान्सीका निरेन रोय, उत्कृष्ट कला निर्देशक देवसरी, उत्कृष्ट खलनायक मावेर आर्शिवादबाट पुकार भट्टराई, उत्कृष्ट स्कृीप्टमा सनार पिन्जारबाट धीरु रोय, उत्कृष्ट फिल्म देवसरी र उत्कृष्ट सर्पोटिङ कास्टमा तहरे यादतले अवार्ड जिते ।यस्तै, उत्कृष्ट नाटक हु आर यू, डाइलग होथट सन्जिव बर्मा, क्रिएटिभ कन्सेप्ट गोछिपूर्णलाई अवार्ड दिइएको छ।

निर्देशक पुकार भट्टराई, आसामका निर्देशक निलिमोई प्रोधानी, डेभिड राय, मिस कोच विजेता हेरोलिन कोच, नायिका प्रतिमा सिंह, गायिका साक्षी राय, गायिका देवजनी सिल, देशी ढोलगुरु धनन्जय राय, उत्तरदिनाजपुर भारतका महलालसिंह, लेखक अरुप ज्योती दास र नायक प्रदिप कुमार रायले उत्कृष्ट नायक अवार्ड प्राप्त गरे ।


कोच राजवंशी साँस्कृति संरक्षण तथा प्रवद्र्धन केन्द्र र राजवंशी समाज विकास समिति नेपालको संयुक्त आयोजनामा गत जेठ २६ र २७ गते गरिएको कार्यक्रममा सँस्कृति झल्किने ग्वालिनी, हुदुमलगायतका नाच, देशी ढोललगायत प्रस्तुती रहेको थियो । यस्तै, गायिका साक्षी रोय, पिंकी राजवंशीलगायत कलाकारले गीतमार्फत मनोरञ्जन दिएका थिए ।

कार्यक्रमको अध्यक्षता कोच राजवंशी साँस्कृति संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशीले गरे । साथै प्रमुख अतिथीमा राजवंशी डेभलपमेन्ट एण्ड कल्चरल बोर्डका अध्यक्ष बंशीबदन बर्मन रहे । सो अवसरमा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले राजवंशी समुदायको समृद्ध, साँस्कृतिक सम्पदालाई मनाउने, संरक्षण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र नेपाल र नेपाल बाहिरका फिल्म निर्माता र कलाकारहरुको कलात्मक प्रतिभा प्रर्दशन गर्ने वार्षिक महोत्सव भएको बताए । महोत्सवले नेपाल र भारतका विभिन्न स्थानमा बसोबास गर्दै आएका कोच राजवंशीहरुको भाषा,धर्म, संस्कृतिका साथै पूर्वजहरु एउटै थिए भन्ने सन्देश यस महोत्सवले दिएको उनको कथन छ ।


कार्यक्रममा विभिन्न समुदायका बुद्धिजीवि, समाजसेवी, सरोकारवालाहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा ताजपुरिया समाज कल्याण परिषद्का केन्द्रीय अध्यक्ष पूर्णलाल ताजपुरियाले राजवंशी समुदायको संस्कृति संरक्षण एवं जगेर्ना गर्ने खालका यस्ता कार्यक्रमहरुले फिल्म निर्माता, कलाकारहरुको प्रतिभा प्रस्फुटन हुनुका साथै अन्य समूदायको भाषा, संस्कृति जर्गेना गर्न हौसला मिल्ने बताए । उनले ताजपुरिया र राजवंशी समुदायका भाषा, संस्कार, देवीदेवता समेत मिल्दोजुल्दो हुनुले पनि यी दुई समुदायबीचको सम्बन्ध भाइभाइको रहेको बताए ।


प्रतिक्रिया