पेस्तोल सहित रौतहटबाट एक भारतीय नागरिक पक्राउ

रेडियो कान्तिपुर संवाददाता

असार १०, २०८१ | रौतहट

पेस्तोल सहित रौतहटको सीमा क्षेत्रबाट एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गणको टोलीले भारत बिहार सीतामढीका २१ वर्षीय राहुल रामलाई एकथान नलकटुवा पेस्तोल सहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरीले आइतबार राति रामलाई पक्राउ गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा गणका प्रहरी उपरीक्षक (एसपी) विक्रम हुमागाईंले बताउनुभयो । उनको पृष्ठभूमि बारे प्रहरीले अनुुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । 

एसपी हुमागाईका अनुसार गौर नगरपालिका–२ महादेवपट्टी छेउस्थित नेपाल–भारत सीमा स्तम्भ नजिक सशस्त्र प्रहरीको छड्के चेक प्वाइन्ट हुँदै नेपाल आउँदै गरेको अवस्थामा रामलाई पक्राउ गरेको हो । 

छ्डके टोलीले रामले चलाएको मोटरसाइकल चेकजाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको अवस्थामा हतियार बरामद गरिएको एसपी हुमागाईले जानकारी दिनुभयो । रामसँगै मोटरसाइकलमा सवार अर्का एक भारतीय नागरिक भने सीमा पारि भाग्न सफल भएको प्रहरीले जनाएको छ । 

शसस्त्र प्रहरीले बरामद पेस्तोल, एकथान मोबाईल र मोटरसाइकल आवश्यक कारबाहीको लागि गौरस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइएको एसपी हुमागाईले जानकारी दिनुभयो । ‘हामीले सीमा क्षेत्रमा निगरानी र चेकजाँच अभियान तीब्र बनाएका छौँ,’ एसपी हुमागाईले भन्नुभयो, ‘सीमा क्षेत्रबाट हुने जुनसुकै अपराधका घट्ना रोक्न हरसम्भव प्रयास गरिरहेका छौँ ।’


प्रतिक्रिया