पर्सा राष्ट्रिय निकुञ्जमा दुई पुरुषको शव फेला

श्रावण २३, २०८१ | पर्सा

पर्सा राष्ट्रिय निकुञ्जमा शंकास्पद अवस्थामा २ पुरुषको शव फेला परेको छ । निकुञ्जको रामभौरीभाठा मन्दिर भन्दा करीब २० किलोमिटर उत्तर–पश्चिम शितलपुर क्षेत्रमा मंगलबार साँझ दुई पुरुषको शव भेटिएको निकुञ्जका संरक्षण अधिकृत सन्तोष कुमार भगतले बताउनुभयो । 

उहाँका अनुसार मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का ३२ वर्षीय राजकुमार नेगी र मनहरी गाउँपालिका–५ का दिल्लीपुरका ४० वर्षीय रामबहादुर मोक्तानको मृत अवस्थामा भेटिएका हुन् । दुबैको शव शितलपुरमाथि चुरे पहाडको फेदमा फेला परेको हो । 

शव फेला परेको स्थान निकुञ्जको कोर एरिया भएको निकुञ्जका संरक्षण अधिकृत भगतले बताउनुभयो । ‘घना जंगलमा सेना, नेपाल प्रहरी, निकुञ्जकर्मी तथा मृतकका आफन्त सहितको टोलीले सोमबारदेखि दुबैको खोजी सुरु गरेको थियो,’ उहाँले भन्नुभयो, ‘आफन्तले नै दुबै जना हराएको सूचना दिएपछि हामीले उनीहरुको खोजी कार्य सुरु गरेका थियौं ।’

शवको प्रकृति हेर्दा दुबैको मृत्यु ३÷४ दिन अघि भएको हुन सक्ने निकुञ्जका संरक्षण अधिकृत भगतको भनाई छ । शरीरको विभिन्न भागमा चोट पटक देख्दा हात्तीको आक्रमणमा परी दुबैको ज्यान गएको अनुमान गरिए पनि घटना बारे थप विवरण आउन बाँकी रहेको र प्रहरीको अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्न सक्ने उहाँले बताउनुभयो । 

मृतकहरु घरबाट हिँडेर परिवारसँग सम्पर्कमा नआएपछि निकुञ्जको वन क्षेत्रमा हराएको अनुमान गरिएको थियो । दुबै जना कुन प्रयोजनले निकुञ्जमा गएका थिए भन्ने अझै खुल्न सकेको छैन । 

घटनास्थल भन्दा करीब २० किलोमिटर दूरीमा रामभौरीभाठा मन्दिर रहेको र त्यहाँ हाल साउने मेला लागिरहेको छ । तर, उनीहरु मेला भर्न आएको सम्भावना कम छ । साउन भदौको महिनामा जंगली हात्ती बढी सकृय हुने गरेको छ । ‘शव परीक्षणको नतिजा नआउन्जेल तथा प्रहरीले अनुसन्धान नसकुन्जेलसम्म तत्कालै केही भन्न सक्ने अवस्था छैन,’ भगतले भन्नुभयो, ‘अनुसन्धान र शव परीक्षणको काम प्रहरीको हो ।’


प्रतिक्रिया