सुदूरपश्चिममा गौरा पर्व सुरु

भाद्र ८, २०८१ | धनगढी

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । सुदूरपश्चिमको मौलिक पर्व गौरा पर्व आज शनिबारदेखि विधिवत् रुपमा सुरु भएको हो । भाद्र शुक्ल पक्ष पञ्चमीको दिन घर–घरमा बिरुडा राखेर गौरा पर्व सुरु हुने परम्परा छ । 

पहिलो दिनलाई बिरुडा पञ्चमी समेत भन्ने गरिन्छ । पञ्च अन्न (मास, कलौ, गहत, गहुा र गुरुस) भिजाएर तामाको भााडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले श्रृङ्गार गरी बिरुडा बनाउने चलन छ । 

भदौ शुक्ल पञ्चमीदेखि महिलाले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्व सुरु हुन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ । 

गौरा पर्व डडेल्धुृरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन छ । काम विशेषले घरबाट टाढा गएकाहरु पनि गौरा पर्व मनाउन गाउँमा फर्कने गर्छन् । 

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ । गौरामा व्रत बसी पूजा अर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।


प्रतिक्रिया