कैलालीमा छाउगोठ बसेकी महिलामाथि चितुवाको आक्रमण

माघ १४, २०८१ | धनगढी

छाउगोठमा बसेको अवस्थामा कैलालीको मोहन्यालकी एक महिला आइतबार राति चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणमा परेर मोहन्याल गाउँपालिका–७ कुइनेकी ४० वर्षीया सरस्वती विक घाइते भएकी छन् । 

सरस्वतीका छिमेकी महेश विष्टका अनुसार चितुवाको आक्रमणबाट सरस्वतीको टाउको र गालामा चोटमा लागेको छ ।

‘सरस्वती घरकै छेउमा बनाइएको छाउगोठमा सुतेका बेला चितुवाले आक्रमण गरेछ । उनी चिच्याएपछि गाउँलेहरुले हो–हल्ला गर्‍यौं । त्यसपछि चितुवा भाग्यो, विष्टले भने ‘हाम्रो गाउँ ठाउँमा गोठमा पसेर चितुवा बाख्रा र पशु चौपायालाई आक्रमण गरिरहन्छ । मान्छेनै परेको पहिलो घटना हो ।’

उनलाई उपचारका लागि लम्की लगिएको स्थानीयले बताए । चितुवाको आक्रमणबाट घाइते भएकी सरस्वती घटनापछि छाउ गोठ छाडेर अर्को खाली घरमा बसेको विष्टले बताए । रुढीवादी परम्परा रहेको गाउँ समाजमा महिलाहरु महिनावारी भएका बेला छाउ बार्ने भन्दै चार दिनसम्म छाउगोठमा बस्ने चलन छ । 


प्रतिक्रिया