रुपन्देही, खप्तड गोल्डकप फुटवलको क्वाटरफाइनलमा

पुस २५, २०७४ | धनगढी

- अग्नी रुपन्देही-११, धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय रंगशालामा आज भएको खेलमा पाहुना टोली भुटानको ड्रुक स्टार क्लबमाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित निकाल्दै रुपन्देही अन्तिम ८ मा प्रवेश गरेको हो । क्वाटरफाइनलमा उसको भेट बलियो प्रतिद्वन्दी मनाङ मस्र्याङ्दीसँग आगामी शुक्रवार हुनेछ । 

खेलको २२ औं र ३८ औं मिनेटमा अमर डंगोलको गोलबाट रुपन्देहीले २–० को अग्रता बनाएपनि कुएङ्गा राग्बेले ५८ औं मिनेटमा गोल गर्दै भुटानको आशा कायम राखेका थिए । ६९ औं मिनेटमा मनिष थापाले गोल गरेपछि रुपन्देही ३–१ को अग्रता लिन सफल भयो । खेलको ८९ औं मिनेटमा भुटानको पेनाल्टी प्रहार रुपन्देहीका गोलकिपर सोजित गुरुङले रोकेपनि अन्तिम समयमा यसी दोर्जीले गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि गोल हुन सकेन र खेल रुपन्देहीले आफ्नो पक्षमा पार्‍यो । 

प्रतियोगितामा भोलीबाट क्वाटरफाइनलका खेलहरु हुनेछन् । पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

 


प्रतिक्रिया