वर्षाका कारण डीपीएलका दुबै खेल रद्ध

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ४, २०७५ | धनगढी

मैदानमा पानी जमेका कारण धनगढी प्रिमियर लिग डीपीएल अन्र्तगत आजका दुबै खेल रद्ध भएको छ । हिजो दिनभर परेको पानीका कारण फाप्ला क्रिकेट मैदानमा पानी जमेकाले आजका दुबै खेल रद्ध गरिएको राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए ।

पूर्व निर्धारित तालिका अनुसार आजको पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्स तथा दोस्रो खेलमा धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुने तय थियो । खेल रद्ध भएपछि सबैले अंक बाँडे ।

अंक बाँडेसँगै काठमाडौ ५ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लदै २ खेल अगावै प्लेअफमा स्थान बनाएको छ । बाँकी २ खेलमा हार भोगेपनि काठमाडौ प्लेअफमा पुग्नेछ । ४ खेलमध्ये ३ मा हार र १ मा अंक बाँडेको धनगढी तालिकाको पुछारमा रहँदै १ खेल अगावै समूह चरणबाटै बाहिरिएको छ । धनगढी समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्यो ।

समान ४ खेल खेलेको महेन्द्रनगरले २ मा हार र २ मा अंक बाँडेपछि प्लेअफमा सम्भावना न्यू बनेको छ । महेन्द्रनगर २ अंकमा तालिकाको पाँचौ स्थानमा छ । दुबै खेल जितेको सिवाईसी अत्तरिया ४ अंकमा दोस्रो, ३ खेल खेलेको रुपन्देही च्यालेन्जर्स ३ मा जित र १ मा हार व्यहोर्दै ४ अंकमा तालिकाको तेस्रो स्थानमा छ ।  


प्रतिक्रिया