म्यानमारविरुद्ध नेपालको शानदार जित 

रेडियो कान्तिपुर संवाददाता

वैशाख ७, २०७६ | काठमाडौं

- म्यानमारमा जारी एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट प्रतियोगीतामा नेपालले शानदार सुरुवात गरेको छ । आज भएको खेलमा आयोजक म्यानमारलाई ७ विकेटले हराउदै नेपालले सुखद सुरुवात गरेको हो । म्यानमारले दिएको ५९ रनको झिनो चुनौती नेपालले ८ दशमलब १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा अर्जुन कुमालले २६ र सुवास ऐरले ११ रनको योगदान गरे । प्रशान्त महत ९ रनमा अबिजित रहे । दिपक बोहोराले ६ तथा कप्तान विशाल विक्रम केसीले ३ रन जोडे । कुंग टेट क्याओले नेपालको २ विकेट लिए ।

 यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १३ दशमलब २ ओभरमा ५८ रनमा समेटिएको थियो । बिशालले ४ तथा रमेश कुर्मी र तिलकराज भण्डारीले म्यानमारको एक एक विकेट लिए । उसका ४ ब्याट्सम्यान रनआउट भएका थिए ।

क्याओले बनाएको १९ रन नै म्यानमारको सर्वाधिक स्कोर रह्यो । क्रिष्टोफरले ११ रन जोडेको म्यानमारका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालले दोस्रो खेलमा आगामी बुधबार मलेसियासंग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया