ब्याडमिन्टन  ः दिपेश धामी र रसिला महर्जनलाई स्वर्ण 

रेडियो कान्तिपुर संवाददाता

वैशाख ७, २०७६ | दाङ

- आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङमा भएको ब्याडमिन्टन प्रतियोगितामा एपिएफका दिपेश धामी र रसिला महर्जनले स्वर्ण जित्दै नयाँ ईतिहास रचेका छन् । उनीहरुले त्रिभुवन आर्मीका दिदीभाई रत्नजित तामाङ र नङ्शल तामाङको एक छत्र राजलाई तोड्दै उपाधि हात पारेका हुन्  । विगतका चार राष्ट्रिय प्रतियोगितामा लगातार जितेर बर्चस्व बनाएका रत्नजित यसपटक पराजित भए । घोराहीस्थित कभर्डहलमा भएको फाइनलमा दिपेशले रत्नलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन् ।

 सेनाकी १४ वर्षिया रशिला महर्जनले नङ्शल तामाङलाई १९–२१, २१–१४ र २४–२२ ले पराजित गर्दै आफुलाई राष्ट्रिय च्याम्पियन स्थापित गरिन् । बर्दियामा जारी सेपाकताक्रोको महिला पुरुष दुबैतर्फ विभागीय त्रिभुवन आर्मीले स्वर्ण हात पारेको छ ।

पुरुषतर्फ आर्मीले गण्डकी प्रदेशलाई २१–१६, २५–२३ र २१–४ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । प्रदेश ३ ले कास्य पायो । महिलातर्फ आर्मीले प्रदेश ३ लाई २१–१५ र २१–१० ले पराजित गर्दै स्वर्ण जितेको छ । बर्दियामै खोखोको खेल जारी छ । 

 


प्रतिक्रिया