लिभरपुल फेरि शीर्ष स्थानमा, म्यान युनाईटेडको लज्जस्पद हार

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | एजेन्सी

लिभरपुल ईङ्लिस प्रेमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको दिन म्यानचेष्टर युनाईटेडले गएराति लज्जास्पद हार बेहोरेको छ । कार्डिफ सिटीलाई २–० ले पराजित गर्दै लिभरपुल ८८ अंकमा शीर्ष स्थानमा फर्किएको हो । म्यानचेष्टर सिटी भन्दा एक खेल बढी खेलेको लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि छ । सिटीले ३४ खेलबाट ८६ अंक जोडेको छ । 

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि कार्डिफ सिटीविरुद्ध लिभरपुलले ५७ औं र ८१ औं मिनेटमा गोल गरेको थियो । गएराति नै भएको अर्को खेलमा म्यान युनाईटेड एभरटनसँग ४–० ले पराजित भयो ।

हारपछि युनाईटेडले चौंथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ । आक्रामक खेल पस्किएको एभरटन जितपछि सातौं स्थानमा उक्लिएको छ । यद्यपि, ६४ अंकमा छैठौं स्थानमा रहेको युनाईटेड भन्दा ऊ १५ अंकले पछि छ । 

अर्को खेलमा आर्सनल पनि क्रिष्टल प्यालेससँग ३–२ ले स्तब्ध भयो । पहिलो हाफmमा क्रिष्टियन बेन्टेकेको गोलमा १–० अग्रता बनाएको त्रिष्टल प्यालेसका लागि विलफ्राइड जाहा र जेम्स मार्कअर्थरले दोस्रो हाफमा गोल थपे । गनर्स्का मेसुट ओजिल र पेरे एमरिक अबुमियाङले गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । 


प्रतिक्रिया