सागका लागि ७० प्रतिशत निमार्ण सम्पन्न राखेप 

रेडियो कान्तिपुर संवाददाता

श्रावण १७, २०७६ | काठमाडौं

आसन्न १३ औँ दक्षिण एशियाली खेलकुद सागका लागि भौतिक पूर्वाधारतर्फ करीब ७० प्रतिशत निमार्ण सम्पन्न भईसकेको राष्ट्रिय खेलकुद परिषद् राखेपले दाबी गरेको छ । बाँकी ३० प्रतिशत कार्य छिट्टै सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले दाबी गर्नुभयो ।

सागका लागि मुख्यतः काठमाडौ र पोखरास्थित रंगशालाको काम बाँकी छ । चिनियाँ कम्पनीसँग आवश्यक सामग्री लिएर भएपनि काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रगंशालाको काम तोकिएकै मितिमा सक्ने उहाँको भनाई थियो । 

पोखरा रगंशाला निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले मैदानको डिजाइन पेश गरिसकेका छन् । प्राप्त डिजाइनबारे केही दिनमा निर्णय गरेर निर्माण सुरु गरिने उपाध्यक्ष तिम्सिनाले बताउनुभयो । पोखरामा भने पृथ्वीनारायण क्याम्पसको मैदान, मालेपाटनमा रहेको खेल मैदान र विभागीय टोलीको मैदानलाई वैकल्पिक मैदानको रुपमा हेरिएको उहाँले बताउनुभयो । 

पोखरा रगंशाला निर्माणको जिम्मा पाएको कम्पनीले रगंशालामा प्यारापिट, ट्रयाक एन्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फेरेन्स कक्ष, फ्लड लाइट सहित स्कोर बोर्ड, डिस्प्ले बोर्डका काम पनि लगत्तै सुरु गरिने छ । यी संरचना निर्माणका लागि लामो समय नलाग्ने दाबी तिम्सिनाको छ । 

अन्य खेलका लागि केहीको भौतिक संरचना सम्पन्न भईसकेको र केहीको निर्माण अन्तिममा पुगेको राखेपको भनाई छ । सागमा समावेश २७ खेल मध्ये २० खेल काठमाण्डौ र बाँकी ७ खेल पोखरामा हुने छ । पोखरामा महिला फुटबल सहित आर्चरी, भलिबल, हृयाडबलका स्पर्धा हुनेछन् । पोखरा रंगशालामा हुने यी चार खेल बाहेक पोखराको सभा गृहमा भारत्तोलन, फेवातालमा ट्रायथलन र प्याराग्लाईडिङका खेल सञ्चालन हुने राखेपले जनाएको छ । 

ललितपुरको सातदोबाटोमा कराँते, बक्सिङ, तेक्वान्दो र कुस्तीका खेलहरु सञ्चालन हुनेछन् । त्यस्तै, सुटिङ, पौडी, स्क्वास र टेनिसका खेलहरु पनि एन्फा कम्प्लेक्समै हुनेछ । निर्माणाधीन दशरथ रंगशालामा पुरुष फुटबल सहित एथ्लेटिक्सका अधिकांश स्पर्धा हुनेछन् ।

साईकिलिङको स्पर्धा भने जगडोलमा हुनेछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा बास्केटबल र ब्याटमिन्टनका खेलहरु हुनेछ । लैनचौरमा टेबुलटेनिस मुलपानी र कीर्तिपुरमा क्रिकेटका खेलहरु सञ्चालन हुनेछ । भृकुटीमण्डपमा खोखो र कबड्डी गोकर्ण गल्फ क्लबमा गल्फ र उसु र तेक्वान्दोका खेलहरु लगनखेलस्थित आर्मीको कभर्डहलमा सञ्चालन गर्ने तयारी राखेपले गरेको छ । 


प्रतिक्रिया