ओलम्पिक कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र २८, २०७६ | काठमाडौं

- नेपाल ओलम्पिक कमिटी एनओसीमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसी र एसियाली ओलम्पिक कमिटी ओसीएका प्रतिनिधि काठमाडौं आईसकेका छन् । ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ मैदानमा छन् । प्यानल बनाएर चुनावमा उत्रिएका जिवनराम श्रेष्ठको पक्षबाट महासचिवमा निलेन्द्र राज श्रेष्ठ तथा उमेशलाल श्रेष्ठको पक्षबाट महासचिवमा पुरेन्द्रविक्रम लाखे प्रत्यासी छन् ।

 एसोसिएट सदस्यको मान्यता पाएका २७ खेल संघका प्रतिनिधिले ओलम्पिक कमिटीको चुनावमा मतदान गर्छन् । २७ मध्ये २६ जना उम्मेदवार बनेको कमिटीमा उपमहासचिवमा पिताम्बर तिम्सिना र रतन टण्डन कोषाध्यक्षमा निर्विरोध निर्वाचित भैसकेका छन् । सत्तारुढ पार्टी नेकपा निकटका दुवै अध्यक्षका उम्मेदवार ४ वर्ष अघि समेत एक अर्का विरुद्ध नै निर्वाचनमा उत्रिएका थिए । 

सर्बोच्चमा दर्ता भएको रिट खारेज भएपछि निर्वाचन समितीले आजका लागि निर्वाचन तय गरेको हो । ओलम्पिक कमिटीले निर्वाचनको तयारी थाल्न निर्देशन दिएलगत्तै समितीले आज निर्वाचन गर्ने गरी मिति सार्वजनिक गरेको थियो । 

 


प्रतिक्रिया