नवप्रवेशी ग्रानाडासँग बार्सिलोना स्तब्ध

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

- स्प्यानीश ला लिगा मा डिफेण्डिङ च्याम्पियन बार्सिलोना नवप्रवेशी ग्रानाडासँग स्तब्ध भएको छ । बार्सालाई गएराति २–० ले हराएको ग्रानाडा १० अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको दोस्रो मिनेटबाटै ग्रानाडाले अग्रता लिएको थियो ।

रामोन अजिजले गोल गर्दै स्प्यानीश जायन्ट बार्सालाई दबाबमा राखेका थिए । पहिलो हाफपछि बार्साले लियोनेल मेसी र अन्सु फातीलाई मैदान ओराले पनि खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टीमा अल्भारो भाडिलोले गोल गरेपछि ग्रानाडा २–० ले विजयी भयो । यो सिजन खराब शुरुआत गरेको बार्सा ७ अंकमा सातौं स्थानमा छ ।

त्यस्तै गएराति नै भएको खेलमा भिया रियालले रियल भल्लाडोलिडलाई २–० ले हरायो । लेभान्ते र इबर तथा एट्लेटिको मड्रिड र सेल्टाभिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडे । 

इङलिस प्रेमियर लिग फुटबलमा गएराति डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले वार्टफोर्डविरुद्ध गोलको वर्षा गरेको छ । गृहमैदान इत्तेहाद स्टेडियममा वार्टफोर्डलाई ८–० ले हराउने क्रममा सिटीका बर्नाडो सिल्भाले ह्याट्रिक गरे । थप गोल डेभिड सिल्भा, सर्गियो अग्युरो, रियाद महारेज, निकोल ओटामेन्डी र केभिन डी ब्रुयनाले गरे ।

त्यस्तै लेष्टर सिटीले टटनहम हट्सपरलाई २–१ ले हरायो । ह्यारी केनले २९ औं मिनेटमा हट्सपरलाई अग्रता दिलाए पनि रिकार्डो परेरा र जेम्स म्याडिसनले दोस्रो हाफमा गोल गरेपछि लेष्टर विजयी भयो ।

गएरातिका अन्य खेलमा बर्नलीले नर्विच सिटीलाई २–० ले, सेफिल्ड युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरे । न्युकासल युनाइटेड र ब्राइटन एण्ड होभ एल्बिनयले गोलरहित बराबरी खेल्दै अंक बाँडे । 


प्रतिक्रिया