महिला भलिबलको सेमिफाईनल समिकरण पूरा

माघ ७, २०७६ | काठमाडौं

आरबीबी एनभीए राष्ट्रिय क्लब महिला भलिबल च्याम्पियनसिपको सेमिफाईनल समिकरण पूरा भएको छ । 

ग्रुप एमा आज दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा एपीएफ सेनाको त्रिभुवन आर्मीमाथि ३–१ को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । 

एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८, २५–११ को सेटमा पराजित गर्‍यो । दुबै टिम यस अघिनै सेमिफाईनल प्रवेश गरिसकेका थिए । 

महिलाकै समूह बीको प्रतिस्पर्धामा होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लबबीचको खेलमा न्यू डायमण्डले जित निकाल्यो । 

न्यू डायमन्डले २५–३, २५–१६, २५–१२ को जित निकालेको हो । यसका साथै न्यू डायमण्ड समूह विजेता बन्दै सेमिफाईनलमा सेना संगको भिडन्त पक्का गर्‍यो ।

अब सेमिफाईनलमा एपीएफले समूह बीको उपविजेता अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग र आर्मीले समूह बीको विजेता होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबसँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको पुरुषतर्फ लिगको अन्तिम खेलमा एपीएफ र पुलिस क्लबले जित निकालेका छन् । 

एपीएफले ग्रुप बीमा जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–१४, २५–१०, २५–०९ को सोझो सेटमा पराजित गर्दै ६ अंक सहित समूह विजेता भयो । 

यस्तै पुलिसले पनि समूहसी को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई २५–१४, २५–२०, २५–१४ ले पराजित गर्दै समूह विजेता बन्न सफल भयो ।


प्रतिक्रिया