ए डिभिजन लिगको उपाधि मच्छिन्द्रले उचाल्यो

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३, २०७६ | काठमाडौं

कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र क्बले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा त्रिभुवन आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्बले उपाधि उचालेको हो । 

खेलको ३३ औं मिनेटमा मच्छिन्द्रका रञ्जित धिमालको फ्री किकमा आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गरेका थिए । सोही गोल मच्छिन्द्रको जितका लागि पर्याप्त बन्यो । 

२०६० सालमा पहिलो पटक ’ए’ डिभिजन लिगमा उक्लिएको मच्छिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले ५० लाख रुपैयाँ प्राप्त गरेको छ । 

उपविजेता आर्मीले ३५ लाख रुपैयाँमा चित्त बुझाएको छ । खेलमा मच्छिन्द्रका आन्द्रेस निया म्यान अफ दी म्याच चुनिए । 

जितसँगै मच्छिन्द्रले १३ खेलबाट ३१ अंक जोडेको छ । उपविजेता आर्मी २९ अंकमा सीमित भयो । 

गत सिजन खराब प्रदर्शनको कारण १ अंक सुरुवातबाटै घटेको मच्छिन्द्रले १३ खेलमा १० मा जित, २ बराबरी र १ खेलमा हार ब्यहोरेको छ । 

लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङदी तेश्रो, २६ अंकका साथ थ्रीस्टार चौंथो, २० अंकका साथ नेपाल पुलिस क्लब पाँचौ र १९ अंकका साथ जावलाखेल युथ क्लब छैठौं स्थानमा रह्यो । 

लिगमा तेस्रो हुनेले २५ लाख, चौंथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ प्राप्त गरे । गत मंसिर २८ गतेबाट सुरु भएको लिगमा कुल ९१ खेल भए । 

यस सिजन खरब प्रदर्शन गरेको सरस्वती क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भएको छ । तालिकाको पुछारमा रहेको सरस्वतीले खेलेका १३ खेलमा ११ मा हार १ मा बराबरी र १ मा जित हात पारेको थियो । 


प्रतिक्रिया