पुलिसलाई सिजनको पहिलो उपाधि

चैत्र २, २०७६ | सर्लाही

चौथो संस्करणको राजर्षी जनक कप फुटबल प्रतियागीताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सर्लाहीको बागमती नगरपालिकास्थित स्थानीय खेल मैदानमा आज भएको फाइनलमा भारत सिलिगुढीको कञ्चनजंघा एफसीलाई २–१ गोल अन्तरमा पराजित गर्दै पुलिसले यो सिजनको पहिलो उपाधि उचालेको हो । 

मनाङ मर्स्याङ्दीसँग पराजित हुँदै आहा रारा गोल्डकपको उपविजेतामा सीमित भएको पुलिसले सर्लाहीमा भने बाजी मारेको हो । उसले १० लाख रुपैयाँ प्राप्त गर्‍यो ।

निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा पुलिसका तर्फबाट तिर्थ रानाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । मिडफिल्डमा राम वाजीले मिलाइदिएको क्रस पासमा रानाले बललाई जाली चुमाए । खेलको सातौं मिनेटमा पाहुना टोली कञ्चनजंघाका निवास रानाले गरेको प्रहार पुलिसका गोलकिपर संजित श्रेष्ठले छेक्दा खेलमा बराबरी गर्ने अवसर गुमाएको थियो । 

खेलको १२ औं मिनेटमा पुलिसका तर्फबाट पुन: अर्को गोल भयो । पुलिसका तर्फबाट पदम् भट्टराईले फ्रि किक प्रहार गर्दा कप्तान जुमनु राईले हेड गर्दै बललाई जालीको सम्पर्कमा ल्याए । २–० गोलले अघि बढेको पुलिसको मनोबल उच्च बनेको थियो भने पाहुन टोली दवावमा देखिन्थ्यो । 

२–० ले पछि परेको पाहुना टोली आक्रामक खेल पस्कदै खेलको १९ औं मिनेटमा पहिलो गोल गर्दै पुलिससंगको दुरी घटायो । कञ्चनजंघाका तर्फबाट अमिर लामाले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि पुलिससंगको दुरी घटेको थियो । २–१ ले पछि परेको पाहुना टोली खेलमा फर्कन निकै आक्रामक बनेपनि पहिलो हाफमा थप गोल हुन सकेन ।

दोस्रो हाफमा दुवै टोली रणनीति परिवर्तन गर्दै मैदान पसेका थिए । पुलिस अर्को गोल गरेर खेलमा सुरक्षित हुन चाहन्थ्यो भने पाहुना टोली कञ्चनजंघा बराबरी गर्ने प्रयासमा देखिन्थ्यो । खेलको दोस्रो हाफ निकै रोमाञ्चक भएको थियो । दुवै टिमको आक्रामक खेलबाट दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । 

पुलिसका तर्फबाट जुनियर खेलाडी सहभागी खेलमा अनुभवको कमी महशुस भएन । राष्ट्रिय टोलीका पुर्व खेलाडी तथा टिमका कप्तान जुमनु राई र अर्का पूर्व राष्ट्रिय खेलाडी रविन श्रेष्ठले खेलाडीलाई ऊर्जा दिने काम गरेका थिए । खेलको अन्त्यसम्म पनि खेल बराबरी गर्न कञ्चनजंघाका खेलाडी भरपुर प्रयास गरेपनि दोस्रो हाफ गोलरहित भएको थियो । 

उसले ५ लाखमै चित्त बुझाएको छ । खेलको म्यान अफ द म्याच कञ्चनजंघाका सुब्रतो सोरेन भए । उनले १० हजार रुपैयाँ पाए ।

प्रतियोगितामा पुलिसका संजित श्रेष्ठ उत्कृष्ट गोलकिपर बन्न सफल भए । उनले २० हजार रुपैयाँ हात पारे । 

सर्वाधिक गोलकर्ता पुलिसकै तिर्थ राना चुनिए । उनले प्रतियोगितामा ४ गोल गरेका थिए । उत्कृष्ट डिफेन्डरमा कञ्चनजंघाका निवास राना भए । 

उत्कृष्ट मिडफिल्डर जावलाखेलका रुपबहादुर लामा भए । प्रशिक्षकमा विभागिय टिमका संजिव जोशी उत्कृष्ट घोषित भए । उत्कृष्ट घोषित सवैले जनही २० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडी जुमनु राई घोषित भए । उनले ५१ हजार रुपैयाँ पुरस्कार पाए । बागमती राइजिङ अफ द इयर प्लेयर घरेलु टोली बागमती युवा क्लवका विजय घलान भए । उनले १५० सीसीको बजाजको पल्सर मोटरसाइकल पाएका छन् ।


प्रतिक्रिया