लिग टु अन्तर्गत नेपालले खेल्ने दोस्रो सिरिज पनि स्थगित

चैत्र ५, २०७६ | काठमाडौं

एकदिवसीय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग टु अन्तर्गत नेपालको दोस्रो सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नामिबियामा अप्रिल तेस्रो साताबाट हुने गरी तय गरिएको सिरिज तत्कालका लागि स्थगित गरेको हो ।

नेपालले आफ्नो दोस्रो सिरिजका रुपमा नामिबियामा आयोजक र स्कटल्याण्डसंग सिरिज खेल्ने पूर्व निर्धारित तालिका थियो । 

आईसीसीले तीनै मुलुकको आपसी समझदारीमा अर्को मिति तय हुने जनाएको छ । यद्यपी कोरोना संक्रमणको अवस्थालाई समेत हेरेर निर्णय गर्ने आईसीसीले जनाएको छ । कोरोना भाईरसको बढ्दो संक्रमणका कारण लिग टु अन्तर्गत स्थगित भएको यो दोस्रो सिरिज हो । 

यसअघि लिग टु को छैठौं सिरिज पनि स्थगित भईसकेको छ । अमेरिकामा हुने भनिएको सिरिजमा स्कटल्याण्ड र युएईबीच प्रतिस्पर्धा हुने तय भएको थियो ।

नेपालले आफ्नो तेस्रो सिरिज जुनमा पपुवा न्यु गीनीमा खेल्ने तय भएको छ । जसमा घरेलु टोली, युएई र नेपालले प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया