कोरोना त्रास : अर्को महिना हुने गोल्डकप पनि प्रभावित हुने

युभेन्टस र एसी मिलानबीचको पहिलो लेग, जुन खेल १-१ को बराबरीमा सकिएको थियो ।  

चैत्र ५, २०७६ | काठमाडौं

कोरोना संक्रमणका कारण घरेलु मैदानमा चैतमा हुने अधिकांश प्रतियोगिता स्थगित भएसंगै त्यसको असर अर्को महिनाका लागि तय गरिएका प्रतियोगिताहरुमा पर्ने भएको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको तालिका अनुसार यसै महिनामा झण्डै दर्जन घरेलु गोल्डकप हुनुपर्ने हो । तर यी गोल्डकप अन्यौलमा पर्दा त्यसको असर यसपछि हुने गोल्डकपमा पर्ने निश्चित देखीएको छ ।

एन्फाको तालिका अनुसार यसै महिना बिशाल मेमोरियल गोल्डकप, नेपालगञ्ज गोल्डकप, भरतपुर गोल्डकप, मकवानपुर गोल्डकप, दुहबी गोल्डकप, उदयपुर गोल्डकप, सुदूरपश्चिम गौरिगंगा गोल्डकप, सिमरा गोल्डकप, मदनभण्डारी गोल्डकप, सिन्धु गोल्डकप, काभ्रे गोल्डकप लगायतका प्रतियोगिता हुनुपर्ने हो । 

एन्फाले यसबारे औपचारिक निर्णय लिन नसक्दा तत्कालका लागि रोकिएका प्रतियोगिता कहिले सञ्चालन हुन्छन् भन्ने अन्यौल बढेको हो । यसको असर यसपछिका लागि तय गरिएका प्रतियोगिताहरुमा स्वत: पर्ने भएको हो ।

एन्फा प्रबक्ता किरण राईले आगामी परिस्थितीको मुल्याङ्कन गरी आवश्यक निर्णय लिने बताउनुभयो । यसबीचमा राष्ट्रिय खेलकुद परिषद् राखेपले एक साताका लागि सम्पुर्ण खेलकुद गतिबिधि रोक्न निर्देशन दिएको छ । 

यो अवस्था लम्बिए अधिकांश गोल्डकप प्रतियोगिता यो बर्ष स्थगीत हुने संभावना बढेको छ ।    


प्रतिक्रिया