ओलम्पिक अनिश्चित, क्यानडाले सहभागिता नजनाउने

रेडियो कान्तिपुर संवाददाता

चैत्र १०, २०७६ | एजेन्सी

जापानको टोकियोमा हुने भनिएको ग्रीष्मकालीन ओलम्पिक र पारा ओलम्पिक अनिश्चित भएको छ । क्यानडाले ओलम्पिकमा सहभागी नहुने निर्णय गरेसँगै विश्व खेलकूदको महाकुम्भ सर्ने सम्भावना बढेको छ । 

जापानी प्रधानमन्त्री सिन्जो आवेले पहिलोपटक प्रतियोगिता सर्नसक्ने स्वीकार गर्नु भएको छ । त्यस्तै अष्ट्रेलियाले यही अवस्थामा २०२० मा ओलम्पिक नहुने भन्दै २०२१ का लागि तयारी थाल्न आफ्ना खेलाडीहरुलाई सूचित गरिसकेको छ । आगामी जुलाई २४ बाट हुने भनिएको ओलम्पिकबारे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ४ सातापछि आधिकारिक निर्णय लिने भएको छ ।

क्यानडाको ओलम्पिक कमिटिले ओलम्पिक सहभागिताबाट हात झिक्ने निर्णय अप्रिय भएपनि सरकार, खेलाडी, खेल संघ लगायतसँगको परामर्शपछि लिइएको स्पष्ट पारेको छ । साथै उसले आईओसी र विश्व स्वास्थ्य संगठनलाई प्रतियोगिता १ वर्षपछि सार्नका लागि अनुरोध गरेको छ । 

त्यस्तै जापानी प्रधानमन्त्री आवेले संसदलाई आज सम्बोधन गर्दै हालको अवस्थामा प्रतियोगिता पूर्ण भव्यताका साथ सम्पन्न गर्न असमर्थ हुने भन्दै खेलाडीहरुको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै मिति सार्नु नै उत्तम बिकल्प हुने बताउनुभएको छ । यद्यपि उहाँले प्रतियोगिता पूर्णत स्थगित नहुने स्पष्ट पार्नु भएको छ ।

दोसो विश्वयुद्धका कारण १९४० को ओलम्पिक भने स्थगित भएको थियो ।  


प्रतिक्रिया