एन्फाका अध्यक्ष शेर्पाविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

जेष्ठ १९, २०७७ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । एन्फा अध्यक्ष शेर्पाले दिएको अन्तरवार्ता नेपालको कानून र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको विधान विपरीत भएको भन्दै काठमाडौं भक्तपुर ललितपुर र धादिङ जिल्ला फुटबल संघले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका हुन् ।

अन्तरवार्तामा शेर्पाले दिएको अभिव्यक्ति मधेशी समुदायको भावना विपरीत भएको भन्दै कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिइएको चार जिल्ला फुटबल संघद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । संघले एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी दिएको जनाएको छ ।

एन्फाको नेतृत्वप्रति असन्तुष्ट चार जिल्ला फुटबल संघले निरन्तर विरोध गर्दै आएका छन् । यसअघि चारै जिल्ला फुटबल संघले एन्फामा ब्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको भन्दै एन्फा अध्यक्षलाई कारबाहीको माग सहित अख्तियारमा उजुरी दिएका थिए । तर, आरोप प्रमाणित हुने आधार नभेटिएको भन्दै अख्तियारले एन्फालाई क्लिन चिट दिएको थियो । 

एन्फाको निरन्तर विरोध गर्दै आएका ललितपुर जिल्ला अध्यक्ष पुरुपोत्तम थापालाई सामाजिक सञ्जालमा फुटबल संघ र पदाधिकारीमाथि नकारात्मक टिप्पणी गरेको भन्दै एन्फाले साधारण सभासम्म निलम्बन गरेको थियो । 


प्रतिक्रिया