खेलाडीको कोरोना परीक्षण बारे अन्योल कायमै

असार १७, २०७७ | काठमाडौं

खेलाडीको कोरोना परीक्षण गर्नेबारे अन्यौल नहटेपछि आगामी साउन १ गतेबाट प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ एन्फाको तयारीमा धक्का लागेको छ । 

एन्फाले कोरोना परीक्षण गरेर खेलाडीको प्रशिक्षण थाल्नका लागि खेलकुद मन्त्रालयमा पत्राचार गरेको एकसाता बितिसक्दा पनि जवाफ आएको छैन ।

बन्द रंगशालामा भएपनि विश्वकप छनोट अन्तर्गत गृह मैदानमा खेलिने खेलका लागि एन्फाले बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाउने तयारी थालेको थियो । 

आगामी साउन १ गतेबाट खेलाडीको प्रशिक्षण सुरु गर्नका लागि त्यसअघि कोरोना परीक्षण गर्न मन्त्रालयसँग अनुमति मागिएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयो । 

हाललाई ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी एन्फाको छ । तर, मन्त्रालयबाट सकारात्मक जवाफ नआएकाले प्रशिक्षण के हुने भन्नेबारेको अन्यौल हटेको छैन । 

खेलाडीसँगै कर्मचारी, प्रशिक्षक र ग्राउण्डका स्टाफको पनि परीक्षण गर्नुपर्ने भएकाले सरकारी सहयोगको आशमा एन्फा छ । तर, मन्त्रालयले जवाफ नदिंदा एन्फा आफैंले पनि खेलाडीको परीक्षण गर्नका लागि बाटो बन्द छ । 

राष्ट्रिय खेलकुद परिषदले एउटा खेल विशेषलाई मात्रै परीक्षण गर्नका लागि अनुमति दिन नसक्ने भनेपछि एन्फाले मन्त्रालय गुहारेको हो । 


प्रतिक्रिया