एटलान्टा सिरी ए फुटबलको दोस्रो स्थानमा

रेडियो कान्तिपुर संवाददाता

असार ३१, २०७७ | एजेन्सी

एटलान्टा ईटलियन सिरी ए फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । ३३ औँ चरणको खेलमा गएराती ब्रेसीयालाई ६–२ को फराकिलो अन्तरले हराउँदै एटलान्टा दोस्रो स्थानमा उक्लिएको हो । 

उसको जितमा मारियो पसालिकले ह्याट्रिक गरे । डुभान जापाटा, रुस्लान मालिनोभस्की र मार्टिन डि रोनले एक एक गोल गरे । ब्रेसीयाका ईर्नेष्टो टोरेग्रोसा र निकोलस स्पेलक्सले गोल गरे । खेलको पहिलो हाफमा ४–१ को अग्रता बनाएको एटलान्टाले दोस्रो हाफमा थप २ गोल गर्दै शानदार जित निकालेको हो ।

३३ खेलबाट ७० अंक जोडेको एटलान्टा शीर्ष स्थानको युभेन्टसभन्दा ६ अंकले पछि छ । ब्रेसीया २१ अंकमा तालिकाको १९ औँ स्थानमा छ ।

सिरि ए फुटबलमा आज बिभिन्न सात खेल हुनेछन् । आज युभेन्टसले सासुउलो, लाजियोले युडिनेस र रोमाले हेल्लास भेरोनासंग खेलनेछन् । त्यस्तै एसी मिलान र पार्मा, साम्पडोरिया र काग्लीयारी तथा लिचे र फियोरेन्टिना आमने सामने हुनेछन् । 


प्रतिक्रिया