विश्वकप छनोटका खेल स्थगित भएपछि खेलाडी घर फर्किए

श्रावण २९, २०७७ | काठमाडौं

विश्वकप छनोटका खेलहरु स्थगित भएपछि अखिल नेपाल फुटल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि बोलाएका खेलाडीहरु घर फर्किएका छन् । 

फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा बोलाईएका उपत्यका बाहिरका खेलाडीलाई एन्फाले आफ्नै सवारीमा गृह जिल्ला पुर्‍याउने व्यवस्था मिलाएको हो । अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार पूर्व जाने ९ खेलाडीलाई एन्फाले आज बिहानै बसबाट घर फर्किने व्यवस्था मिलाएको हो । 

पूर्व जाने खेलाडीमा मिक्चेन तामाङ, अनन्त तामाङ, दिलेन लोक्ताङ, रन्जित धिमाल, दर्शन गुरुङ, विशाल राई बी, पुजन उपर्काेटी, देवेन्द्र तामाङ र विकाश खवास छन् । यस्तै, पोखरा जानेमा बिमल राना, दिप कार्की र सहायक प्रशिक्षक किरण श्रेष्ठ रहेका छन् ।

भदौ १ गतेबाट प्रशिक्षण थाल्ने योजना अनुसार एन्फाले खेलाडीसहित अफिसियल र होस्टलका स्टाफको कोरोना परीक्षण समेत गराएको थियो । सबै २५ जनाको पीसीआर नतिजा नेगेटिभ आएको थियो । 

कतारमा हुने फिफा विश्वकप २०२२ छनोट र चीनमा हुने एसियन कप २०२३ छनोटको समूह ’बी’ मा रहेको नेपालले तीन होम म्याच खेल्न बाँकी छ । एशियाली फुटबल महासंघ एएफसीले बाँकी खेल सन् २०२१ मा गर्ने जनाए पनि मिति भने तोकेको छैन । 


प्रतिक्रिया