बार्सिलोनाको पोष्टमा बायर्नको ८ गोल

श्रावण ३१, २०७७ | काठमाडौं

बार्सिलोनाबिरुद्ध शानदार जित निकाल्दै बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रबेश गरेको छ । लिस्बोनमा गएराती भएको खेलमा बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले हराउँदै बायर्नले अन्तिम चारको यात्रा तय गरेको हो ।

बायर्नको जितमा थोमस मुलर र काउटिन्होले समान २ तथा ईभान पेरिसिक, जोसुवा किम्मिच, सर्ज जिनाब्री र रोबर्ट लेबान्डोस्कीले गोल गरे । बार्साका लुईस स्वरेजले एक गोल गरे । अर्को गोल उसले उपहारस्वस्प पाएको थियो । चौथो मिनेटमा मुलरको गोलमा अग्रता बनाएको बायर्नले सातौं मिनेटमा आत्माघाती गोल गरेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो । 

२१ औं मिनेटमा पेरिसिकले गोल गर्दै बायर्नलाई २–१ को अवस्थामा पुर्याए । २७ औं मिनेटमा जिनाब्रीले तथा ३१ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमै बायर्न ४–१ को अग्रता लिन सफल बन्यो । ५७ औं मिनेटमा स्वरेजले गोल गर्दै अन्तर घटाएउने प्रयास गरेका थिए । 

६३ औं मिनेटमा किम्मिचले बायर्नका लागि गोल गर्दै टोलीलाई ५–२ को बलियो अवस्थामा पुर्याएका थिए । लेबान्डोस्कीले ८२ औं तथा काउटिन्होले ८५ र ८९ औं मिनेटमा गोल गरेपछि बायर्न शानदार जित निकाल्न सफल बन्यो । यो जितसँगै बायर्नले च्याम्पियन्स लिगको उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

बायर्नले फाईनल प्रबेशका लागि आज हुने अन्तिम क्वार्टरफाईनलको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम क्वार्टरफाईनलमा आज म्यानचेष्टर सिटी र लियोन प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया