मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाललाई ३ वटा प्रस्ताव

भाद्र ३१, २०७७

कोरोना महामारीपछि स्थगित खेलकुद गतिविधि ठप्प रहेकै बेला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाललाई ३ वटा प्रस्ताव आएको छ । आगामी नोभेम्बर र डिसेम्बरमा मैत्रीपूर्ण खेलका लागि मंगोलिया, बंगलादेश र डोमिनिकन रिपब्लिकबाट प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । छिमेकी भुटानमै पनि खेलकुदको गतिविधि शुरु हुनै आँट्दा समेत नेपालमा खेलकुद कसरी पुन: सञ्चालन गर्ने भन्नेबारे पर्याप्त छलफल समेत हुन सकेको छैन । यूरोपमा त फुटबलको नयाँ सिजन समेत शुरु भइसकेको छ । त्यस्तै टेनिस, क्रिकेट र अन्य खेल समेत शुरु भइसकेका छन् ।

एन्फा प्रवक्ता किरन राईले विभिन्न देशबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आए पनि सरकारबाट स्वीकृतिका लागि पर्खेर बसेको बताए । सरकारले खेलकुद गतिविधि शुरु गर्नेबारे कुनै निर्णय नगरेकाले आफूहरुले ती देशलाई जवाफ समेत पठाउन नसकेको राईको भनाई छ ।

विश्वकप छनोटका बाँकी खेलहरु समेत स्थगित भएपछि एन्फाले प्रशिक्षणका लागि खेलाडीको कोरोना परीक्षण गराएको थियो । तर, निषेधाज्ञा जारी भएपछि सबै खेलाडी घर फर्किएका छन् । ६ महिनासम्म प्रशिक्षण गर्न नपाउँदा खेलाडीको क्षमता र शैलीमा ह्रास आउने भन्दै एन्फाले सुरक्षा सावधानी अपनाएर खेलकुद गतिविधि गर्न दिन सरकारलाई आग्रह गरेको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलकुद मन्त्रालय र सरोकारवाला निकायलाई धेरैपटक यसबारे अनुरोध गरेपनि जवाफ नआएको बताए । 


प्रतिक्रिया