आईपीएलमा मुम्बईको पहिलो जित

आश्विन ८, २०७७ | काठमाडौं

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । संयुक्त अरब इमिरेट्स युएईको अबुधाबीस्थित शेख जायेद रंगशालामा गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित दर्ता गरेको हो । 

टस जितेर कोलकत्ताले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९५ रन बनायो । उसका कप्तान रोहित शर्माले सर्वाधिक ८० रन बनाए । ओपनिङ जोडी क्विन्टन डी ककलाई १ रनमै गुमाए पनि शर्माले सूर्यकुमार यादवसँग दोस्रो विकेटमा ९० रन जोडी मुम्बईलाई बलियो स्थितितर्फ पुर्‍याएका थिए । यादवले २८ बलमा ४७ रन जोडे । सौरभ तिवारी २१ र हार्दिक पाण्डेय १८ रनमा आउट भए । कायरन पोलार्ड ७ बलमा १३ र क्रुनाल पाण्ड्ये १ रनमा अविजित रहे । कोलकाताका शिवम माभीले २ तथा नारिन र रसेलले १/१ विकेट लिए ।

जवाफमा आएको कोलकाताले ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । जसप्रित बुमराहले आफ्नो पहिलो ३ ओभरमा ५ रनमात्र दिई इयन मोर्गनलाई १६ र एन्ड्रयु रसेललाई ११ रनमा आउट गरेपछि कोलकाता हार भोग्न बाध्य भयो । कोलकत्ताका प्याट कुमिन्सले १२ बलमा ३३ रन जोडे । कप्तान दिनेश कार्तिक ३० र नितिश राना २४ रनमा आउट भए । बुमराह सहित ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र राहुल चहारले २/२ तथा कायरन पोलार्डले १ विकेट लिए ।

आईपीएलमा आज किङ्गस इलेभेन पञ्जाव र रोयल च्यालेन्र्ज बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया