पुबुदु दाशानायके नेपाल आउन ईच्छुक

आश्विन ८, २०७७ | काठमाडौं

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पुबुदु दाशानायकेसहित ३५ जना भन्दा बढीको निवेदन परेको छ । नेपाल क्रिकेट संघ क्यानले गएरातिसम्मको समयसीमा दिएर खोलेको विज्ञापनमा भारत, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्डसहितबाट मुख्य प्रशिक्षकका लागि निवेदन परेको हो ।

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका श्रीलंकाका पूर्व खेलाडि पुबुदुले नेपाली क्रिकेटलाई नयाँ उचाई दिएका थिए । सन् २००७ देखि ११ सम्म क्यानाडा राष्ट्रिय क्रिकेटको जिम्मेवारी सम्हालेका पुबुदु त्यसपछि २०१५ सम्म नेपालको राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक बनेका थिए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा ट्वान्टी २० वल्र्डकप क्रिकेट खेलेको थियो ।

अफ्गानिस्तानसहित बिभिन्न देशका क्वबलहरुको प्रशिक्षण सम्हालेका लान्च क्रुजनरले पनि मुख्य प्रशिक्षकका लागि क्यानमा निवेदन दिएका छन् ।

जनरल म्यानेजरमा समेत २५ जनाको निवेदन परेको क्यानले जनाएको छ । उनीहरु सबैको सूची तयार पारी केही दिन भित्रै छनोट प्रक्रियामा जाने क्यानको तयारी छ ।

आइसीसीको एक जना प्रतिनिधी, एक जना विशेषज्ञ र तीन जना क्यानका पदाधिकारीसहितको टोलीले मुख्य प्रशिक्षकको छनोट गर्नेछन । मुख्य प्रशिक्षकसहित माग गरेका सबै पदको पदपुर्ति एकै साथ गरिने तयारी क्यानले गरेको छ । 


प्रतिक्रिया