सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखलाई

आश्विन ९, २०७७ | काठमाडौं

युईएफए सुपर कप फुटबलको उपाधि जर्मन क्लव बायर्न म्युनिखले जितेको छ । हंगेरीको बुडापेष्टमा गएराती भएको फाईनलमा सेभियालाई २–१ ले हराउँदै बार्यनले सिजनको चौथो उपाधि उचालेको हो । 

१५ हजार १ सय ८० दर्शकसहितको फाईनलमा बार्यनलाई जिताउन लियोन गोरेट्ज्का र जाभी मार्टिनेटले गोल गरेका थिए । निर्धारित समयको खेल एक एकको बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयमा मार्टिनेजले गोल गर्दै बायर्नलाई च्याम्पियन बनाएका थिए ।

खेलमा अग्रता भने खेलको १३ औं मिनेटमा सेभियाले लुकास ओकाम्पोसको गोलमा लिएको थियो । उनले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफको सुरुवातमै टोलीलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा बायर्नका गोरेट्ज्काले टोलीलाई बराबरीमा पुर्याए । 

निर्धारित समयको खेल बराबरीमा सकिएपछि थप गरिएको समयको १४ औं मिनेटमा सब्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका मार्टिनेजले गोल गरेका थिए । अधिकांश समय सेभियालाई दबाबमा राखेको बायर्नका थप आधा दर्जन प्रहार असफल बनेको थियो । 


प्रतिक्रिया