आईपीएलमा दिल्ली र चेन्नई भिड्दै

आश्विन ९, २०७७ | काठमाडौं
इण्डियन प्रेमियर लिग आईपीएल क्रिकेटमा आज देल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे यूएईमा रहेको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । चेन्नई महेन्द्र सिंह धोनी र दिल्ली श्रेयस आइयरको कमानीमा छन् ।
नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध देल्लीले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो भने चेन्नईको तेस्रो स्पर्धा हो । किङ्स इलेभेन पञ्जावलाई सुपर ओभरमा पराजित गरेको देल्ली आईपीएलको जारी सिजन जितलाई निरन्तरता दिने योजनामा छ । पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको चेन्नई दोस्रो खेलमा भने राजस्थान रोएल्ससँग पराजित भएको थियो ।
क्यारेबियन प्रेमियर लिग क्रिकेट खेलेर यूएई पुगेका सन्दिप आजको खेलमा समेत टोलीमा पर्ने सम्भावना भने कम छ । पहिलो खेलमा हातमा चोट बोकेका रविचन्द्रन अश्विन आजको खेलमा फिट नभए उनको स्थानमा अमित मिश्रालाई टिममा सहभागी गराउने तयारी दिल्लीको छ । कागिसो राबाडा, अक्षर पटेल, एण्डरिच नोर्तजे, मोहित शर्मा, अभिस खान लगायत बलर दिल्लीसँग छन् । शिखर धवन, मार्कोस स्टोइनिस, पृथ्वी श, सिमरोन हेटमेयर, रिसब पन्तले देल्लीको व्याटिङ लाईनअप सम्हाल्नेछन् ।
चेन्नईमा भने शेन वाट्सन, फाफ डू प्लेसिस, मुरली विजय, केदार जादभ, साम कुराम, रविन्द्र जडेजा, पियुस चावला लगायत खेलाडि छन् ।