रोनाल्डोको २ गोलमा युभेन्टसको बराबरी

आश्विन १२, २०७७ | काठमाडौं

ईटालियन सिरी ए फुटबलको पछिल्लो खेलमा युभेन्टसले रोमासंग २–२ गोलको बराबरी खेलेको छ । १० खेलाडीमा सीमित युभेन्टसले क्रिस्टियानो रोनाल्डोको २ गोल मद्दतमा रोमासंग अंक खोसेको हो । 

रोमाले जोर्डन भेरेटोउटको दुई गोलमा दुई पल्ट अग्रता लिएको थियो । ३१ औं मिनेटमा पहिलो गोल गरेका जोर्डनले पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमार्फत अर्को गोल थपेका थिए । रोनाल्डोले ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको अन्तर घटाएका थिए । 

६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीलाई हारबाट जोगाएका हुन् । ६२ औं मिनेटमा मिडफिल्डर एड्रियन रेबियट दोस्रो पहेलो कार्डसंगै मैदान छाड्न बाध्य भएपछि त्यसपछिको समय युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो । युभेन्टसको दुई खेलबाट चार अंक भएको छ । समान खेलबाट रोमाको १ अंक भएको छ ।

गएरातीका अन्य खेलहरुमा नापोलीले जिनोआलाई ६–० को फराकिलो अन्तरले हरायो । जारी सिजन नापोलीको यो लगातार दोस्रो जित हो । २ खेलबाट ६ अंक जोडेको नापोली तालिकाको शीर्ष स्थानमा पुगेको छ । एसी मिलानले क्रोटोनलाई २–० ले हराउँदा स्पेजिया सासुउलोसँग ४–१ ले स्तब्ध भयो । अर्को खेलमा हेल्ला भेरोनाले युडिनेजलाई १–० ले हराएको छ ।


प्रतिक्रिया