लेष्टरले म्यानचेष्टर सिटीलाई हरायो, भर्डीको ह्याट्रिक

आश्विन १२, २०७७ | काठमाडौं

ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा लेष्टर सिटी, वेष्टह्याम युनाईटेड र लिड्स विजयी भएका छन् । टटनह्याम भने न्यु क्यासल युनाईटेडसँग एक एकको बराबरीमा रोकिएको छ । 

म्यानचेष्टर सिटीलाई ५–२ ले हराउँदै लेष्टर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसलाई लगातार तेस्रो जित दिलाउन जेमी भर्डीले ह्याट्रिक गरे । जेम्स माडिसन र युरी टेलिमान्सले एक एक गोल थपे । म्यान सिटीका रियाद महारेज र नाथन एकेले एक एक गोल गरे । 

ईतिहाद स्टेडियममा खेलको पहिलो हाफ एक एकको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा लेष्टरले ४ गोल थप्दै एक गोल खाएको थियो । ३ खेलबाट ९ अंक जोडेको लेष्टरले एभर्टनलाई गोल अन्तरले पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।

वेष्टह्याम युनाईटेडले वुल्भरहेम्प्टनलाई ४–० ले हराउँदा लिड्सले सेफिल्ड युनाईटेडलाई १–० ले स्तब्ध पार्यो । प्रिमियर लिग फुटबलमा आज २ खेल हुँदैछन् । आज साविक विजेता लिभरपुलले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा फुल्ह्याम र एष्टन भिल्ला प्रतिस्पर्धामा उत्रनेछन् ।    


प्रतिक्रिया