बुन्डेस लिगामा बायर्नको जित

कार्तिक २, २०७७ | काठमाडौं

जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले शानदार जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले अर्मिनियालाई ४–१ ले हराएको हो । अर्मिनियाको मैदानमा बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले समान २ गोल गरे । घरेलु टोलीका रिट्सु डोआनले सान्त्वना गोल फर्काए ।

आठौं मिनेटमा मुलरको गोलमा अग्रता बनाएको बार्यनका लागि लेबान्डोस्कीले २५ औ मिनेटमा अर्को गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा उनैले अर्को गोल गर्दा बायर्न ३–० को अवस्थामा पुग्यो । ५१ औं मिनेटमा मुलरले गोल गर्दै टोलीलाई जित नजिक पुर्याएका थिए । त्यसको ७ मिनेटपछि डोआनले घरेलु टोलीको अन्तर घटाएका थिए ।

७६औं मिनेटमा कोरिन्टन टोलिसो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय बायर्न १० खेलाडीमा सिमित बनेको थियो । ४ खेलबाट ९ अंक जोडेको बायर्न तालिकाको दोस्रो स्थानमा छ ।

गएराती नै बोरुसीया डर्टमण्डले होफिनह्यामलाई १–० ले हरायो । आरबी लाईप्जिगले अग्सबर्गलाई २–० ले तथा वायर लिभरकुशेनले माईन्जलाई १–० ले हराए । हेर्थाबर्लिन भने स्टुटगार्टसँग २–० ले स्तब्ध भयो । फ्रेईवर्ग र वेडर ब्रेमेन तथा वुल्फवर्ग र बोरुसिया मोन्चेन ग्लाण्डवाचले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया