सरकारी प्रतिवन्धका बीच बारामा क्रिकेट प्रतियोगिता सञ्चालनमा

म्यान अफ द म्याच वीरगन्जका हिंमाशु दत्तलाई ट्रफी प्रदान गरिदैँ । तस्बिर : लक्ष्मी साह, रेडियो कान्तिपुर ।  

कार्तिक २३, २०७७ | बारा

कोरोना महामारीका कारण सरकारले सामुहिक रुपमा हुने खेल प्रतियोगिता सञ्चालनमा प्रतिवन्ध लगाएपनि बारामा भने त्रिकोणात्मक क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । 

अधिकांश क्षेत्रमाथिको प्रतिवन्ध फुकुवा गरेको सरकारले खेलकुदका कोही प्रशिक्षणका लागि मात्र अनुमति दिएको छ । तर कलैया सिटी जेसीसले तीन वटा टिमलाई सहभागी गराउदै बाराको कलैयामा प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रतियोगिताको दोस्रो दिन आज कलैया क्रिकेट क्लबलाई ५७ रनले पराजित गर्दै वीरगन्ज–११, कलैया जेसिस कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । उसले हिजोको उद्घाटन खेलमा मकवानपुर क्रिकेट क्लबलाई २६ रनले पराजित गरेको थियो ।

कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा वीरगञ्जले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको घरेलु टोली कलैया निर्धारित ४० ओभरको खेल सकिन एक बल अगावै १ सय ८२ रनमा अलआउट भयो ।

प्रतियोगिता अन्तर्गत भोली हुने खेलमा कलैया क्रिकेट क्लब र मकवानपुर त्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । भोलीको विजेताले उपाधिका लागि पर्सि मंगलबार वीरगञ्जसंग खेल्नेछ । 


प्रतिक्रिया